काठमाडौं । नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्नेगरी कानुनी व्यवस्था गर्न लागिएको छ।
सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते तोक्ने सहमति भएको हो।
समिति सभापति कृष्णहरि बुढाथोकीका अनुसार बजेट सार्वजनिक गर्ने समय निश्चित भएजस्तै मौद्रिक नीति घोषणाको मिति पनि निश्चित गर्न लागिएको हो।
बैठकमा बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा समेत छलफल भएको थियो। बैंकर्सहरूले राष्ट्र बैंक ऐनको दफा १०० का केही प्रावधान संशोधन गर्न माग गरे पनि हालको विधेयकमा उक्त दफा संशोधनका लागि खुला नगरिएकाले तत्काल प्रस्ताव अघि बढाउन नसकिएको समितिले जनाएको छ।