इरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध, 'इरान वा अमेरिका रोज्नुपर्ने' चेतावनी

एक घण्टा अगाडि
इरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध, 'इरान वा अमेरिका रोज्नुपर्ने' चेतावनी

काठमाडौं । इरानमाथि आर्थिक दबाब बढाउन अमेरिकाले थप कडा प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार घोषणा गरेको नयाँ प्रतिबन्धले इरानको आम्दानीका प्रमुख स्रोतलाई लक्षित गरेको बताएका छन्।

अमेरिकाका अनुसार नयाँ प्रतिबन्धअन्तर्गत इरानी नियन्त्रणमा रहेका जलमार्ग, विद्युतीय सम्पत्ति, प्रविधि, सुन, हवाई तथा सामुद्रिक यातायात र अन्य ढुवानी क्षेत्रलाई निशाना बनाइएको छ।

प्रतिबन्ध इरानसँग व्यापार तथा आर्थिक कारोबार गरिरहेका अन्य देश र संस्थामाथि समेत लागू हुन सक्ने चेतावनी अमेरिकाले दिएको छ। बेसेन्टले इरानको वर्तमान सत्तालाई आर्थिक सहयोग गर्ने जोसुकैलाई अमेरिकी कारबाहीको सामना गर्नुपर्ने बताएका छन्।

उनका अनुसार अब विश्वका देशले इरान र अमेरिकामध्ये एक पक्ष रोज्नुपर्ने अवस्था आएको छ। उनले ‘अमेरिकी प्रतिबन्धभन्दा माथि कोही पनि छैन’ भन्दै इरानको आम्दानी बढाउन सहयोग गर्ने राष्ट्र तथा संस्थामाथि पनि कारबाही हुन सक्ने चेतावनी दिएका छन्।

अमेरिकाले नयाँ प्रतिबन्धलाई ‘इकोनोमिक डी–डे’ नाम दिएको छ। इरानसँग भएको सैन्य संघर्षपछि अमेरिकाले आर्थिक दबाबलाई थप तीव्र बनाएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक दबाब र सैन्य कारबाहीको चेतावनी दिए पनि इरानले आफ्नो अडान नछाडेपछि उसलाई वार्तामा ल्याउन तथा सम्झौताका लागि दबाब दिन नयाँ प्रतिबन्ध घोषणा गरिएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकाले आफ्ना सहयोगी तथा अन्य राष्ट्रलाई पनि प्रतिबन्ध कार्यान्वयनमा साथ दिन आग्रह गरेको छ। अमेरिकी नीतिलाई साथ दिने देशले त्यसबाट लाभ लिन सक्ने तर इरानलाई सहयोग गर्नेहरू अन्तर्राष्ट्रिय रूपमा एक्लिन सक्ने चेतावनीसमेत अमेरिकाले दिएको छ।

नयाँ प्रतिबन्धले इरानको तेल व्यापार, ढुवानी, वित्तीय कारोबार र अन्य आम्दानीका स्रोतमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।