बीमा र धितोपत्र मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वसीईओ पक्राउ

एक महिना अगाडि
बीमा र धितोपत्र मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वसीईओ पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौं महानगरपालिका–७ सिफलबाट उनलाई नियन्त्रणमा लिएको हो।

रिमाल व्यवसायी दीपक भट्टसमेत प्रतिवादी रहेको बीमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको मुद्दामा फरार रहेका थिए। उनीमाथि बीमा कम्पनी सञ्चालनसँग सम्बन्धित कानुनी उल्लंघन तथा धितोपत्र कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार पक्राउपछि उनलाई थुनछेक प्रयोजनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। बिहीबार बहस हुन नसकेकाले अदालतले आगामी दिनमा थुनछेक आदेश दिनेछ।

रिमालविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतमा छुट्टै मुद्दासमेत दायर भइसकेको छ। जिल्ला अदालतबाट थुनछेक आदेश आएपछि सो मुद्दामा पनि उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

बीमा तथा धितोपत्र क्षेत्रसँग सम्बन्धित यो प्रकरणमा यसअघि नै व्यवसायी दीपक भट्टसहित अन्य व्यक्तिहरूमाथि पनि मुद्दा दायर भइसकेको छ। अनुसन्धान निकायले आर्थिक अनियमितता, गैरकानुनी वित्तीय कारोबार तथा सम्पत्ति शुद्धीकरणका विभिन्न पक्षमा अनुसन्धान जारी राखेको जनाएको छ।