नयाँ दिल्ली । भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन्। भारतमा परीक्षाका प्रश्नपत्र चुहावटका घटनाविरुद्ध आन्दोलन गर्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका वाङचुकले बिहीबार राति अनशन तोडेको घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले विभिन्न चरणमा भएको छलफल र देशमा सम्भावित तनाव तथा हिंसालाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरेको बताएका छन्। अनशन तोड्नुका कारण र छलफलका सर्तबारे भने छुट्टै भिडियोमार्फत जानकारी दिने उनले उल्लेख गरेका छन्।
वाङचुकको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट रोक्न कडा कानुन ल्याइने र दोषीमाथि फास्ट–ट्रयाक अदालतमार्फत कारबाही गरिने प्रतिबद्धता जनाएलगत्तै आएको हो। मोदीले प्रश्नपत्र चुहावटलाई लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर विषय भन्दै सरकारले यसबारे आवश्यक कानुनी व्यवस्था अघि बढाइरहेको बताएका छन्।
मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र चुहावटपछि लाखौँ विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका थिए। त्यसैको विरोधमा आन्दोलनरत युवा समूह सीजेपीलाई समर्थन जनाउँदै वाङचुक जुन २८ देखि अनशनमा बसेका थिए।
यद्यपि, प्रश्नपत्र चुहावटविरुद्धको आन्दोलन भने जारी छ। सीजेपीका समर्थकहरूले नयाँ दिल्लीको जन्तर–मन्तरसहित भारतका विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्।