हरिशयनी एकादशी : आज विष्णु मन्दिरमा भक्तजनको भीड

३ दिन अगाडि
हरिशयनी एकादशी : आज विष्णु मन्दिरमा भक्तजनको भीड

काठमाडौं । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण तथा विष्णु मन्दिरमा भक्तजनको उल्लेखनीय भीड लागेको छ। भगवान् विष्णु आजकै दिनदेखि चार महिनासम्म योगनिद्रामा रहने धार्मिक विश्वासका कारण यो एकादशी विशेष महत्वका साथ मनाइन्छ।

हरिशयनी एकादशीका दिन भक्तजनले व्रत बसी भगवान् विष्णुको पूजा–आराधना गर्ने तथा चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो, फलफूल तथा अन्य फलाहार ग्रहण गर्ने परम्परा रहेको छ।

यस अवसरमा तुलसीको पनि विशेष पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार तुलसी भगवान् विष्णुलाई अत्यन्त प्रिय मानिन्छ। वैज्ञानिक दृष्टिले समेत तुलसी औषधीय गुणले भरिपूर्ण वनस्पति हो। यसले वातावरण शुद्ध बनाउन, हावाको गुणस्तर सुधार्न तथा विभिन्न रोगका लागि औषधीय रूपमा उपयोगी हुने तथ्य विभिन्न अध्ययनले देखाएका छन्। तुलसी रहेको स्थानमा सकारात्मक वातावरण कायम हुने र वास्तुदोष कम हुने धार्मिक विश्वास पनि रहिआएको छ।

हरिशयनी एकादशीदेखि सुरु हुने चतुर्मास अवधिभर तुलसीको विधिपूर्वक पूजा–आराधना गरिन्छ। चार महिनापछि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन तुलसी र भगवान् दामोदर (विष्णु) को वैदिक विधिअनुसार विवाह गराउने परम्परा छ। त्यसपछि अग्निस्थापना गरी हवनसहित चतुर्मास व्रतको उद्यापन गरिन्छ।

हरिशयनी एकादशीले धार्मिक आस्था, संयम, सात्विक जीवनशैली तथा प्रकृतिप्रतिको सम्मानलाई थप सुदृढ गर्ने पर्वका रूपमा नेपाली समाजमा विशेष महत्व राख्दै आएको छ।