काठमाडौं। दक्षिण-पश्चिमी फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। तीव्र हावा र अत्यधिक तापक्रमका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा डढेलो तीव्र हावाका कारण बोर्दो सहरतर्फ फैलिन थालेपछि अग्निनियन्त्रकहरूलाई आगो नियन्त्रण गर्न चुनौती थपिएको छ। अधिकारीहरूका अनुसार आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
रातिको समयमा बोर्दोको पश्चिममा रहेका सात सहरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। शनिबार बिहानसम्म आगो बोर्दोबाट करिब ४०–५० किलोमिटर टाढा पुगे पनि धुवाँ सहरसम्म फैलिएको छ। स्थानीयले हावामा डढेको कडा गन्ध महसुस गरेको बताएका छन्।
फ्रान्सको जिरोन्ड र ल्यान्ड्स क्षेत्रबाट मात्रै करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन फ्रान्स सरकारले सेना परिचालन गरेको छ। सेनाले झाडी हटाउने, आगो फैलिन नदिन फायर ब्रेक निर्माण गर्ने तथा अग्निनियन्त्रकलाई आवश्यक सहयोग गरिरहेको छ।
यता, स्पेनमा पनि डढेलोका कारण संकटकाल घोषणा गरिएको छ। मौसममा केही सुधार आएपछि म्याड्रिड बाहिर खटिएका अग्निनियन्त्रकहरूलाई केही राहत मिले पनि अवस्था अझै गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले आगलागी नियन्त्रणका लागि प्रयास जारी रहे पनि चुनौती अझै कायम रहेको बताएका छन्। भ्यालेन्सिया क्षेत्रमा डढेलोका कारण एकजनाको मृत्यु भएको पुष्टि भएको छ।
स्पेनको आन्तरिक मन्त्रालयका अनुसार डढेलो सुरु भएयता म्याड्रिड र आभिला क्षेत्रबाट करिब ६० हजार मानिस विस्थापित भएका छन् भने २८ हजारभन्दा बढी मानिस अझै आफ्नै घरभित्र बस्न बाध्य छन्।
प्रधानमन्त्री साञ्चेजका अनुसार यस वर्ष मात्रै स्पेनमा करिब १ लाख ३० हजार हेक्टर वन क्षेत्र डढेलोले नष्ट गरिसकेको छ, जुन विगत एक दशकको वार्षिक औसत करिब १ लाख हेक्टरभन्दा धेरै हो।