नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै, एक महिनाभित्र पूर्ण सञ्चालन

४ हप्ता अगाडि
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै, एक महिनाभित्र पूर्ण सञ्चालन

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारको संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

सडक विभागका अनुसार मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने इभ्याकुएसन टनेल र क्रस-प्यासेजसहित कुल सुरुङको लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ। वि.सं. २०७६ मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले निर्माण सुरु गरेको आयोजना जापानी सहयोगमै सम्पन्न भएको हो।

उद्घाटनपछि प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ। त्यसपछि सुरुङभित्र सम्भावित दुर्घटना र आगलागीका अवस्थाको तयारीका लागि ‘मक ड्रिल’ सञ्चालन गरिनेछ।

सुरक्षासम्बन्धी सबै प्रणालीको परीक्षणपछि केही समय एकतर्फी रूपमा सञ्चालन गरी जेट फ्यान, भेन्टिलेसन लगायतका प्राविधिक प्रणालीको परीक्षण गरिने सडक विभागले जनाएको छ। सबै परीक्षण सफल भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले नागढुङ्गाको जोखिमपूर्ण उकालो र पहिरो प्रभावित सडकको विकल्पका रूपमा निर्माण गरिएको सुरुङमार्गले यात्रालाई सुरक्षित, सहज र छोटो बनाउने विश्वास व्यक्त गरे।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल र प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ। अन्य सवारीसाधन भने चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ।