काठमाडौं । ओपनर आसिफ शेख र अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनमा नेपालले एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गरेको छ।
मंगलबार क्वालालम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा मलेसियाले दिएको २३३ रनको लक्ष्य वर्षाका कारण खेल ४८ ओभरमा घटाइएपछि नेपालले २२८ रनको नयाँ लक्ष्य पाएको थियो।
नेपालले उक्त लक्ष्य २८ ओभरमै एक विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि आसिफ शेखले १६१ रनको विस्फोटक इनिङ खेले। उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गरे।
पहिलो विकेटका लागि आसिफ र अर्जुनबीच २२० रनको साझेदारी भएको थियो। अर्जुन कुमाल ६१ रनमा अविजित रहे। उनले ८२ बलमा सात चौका प्रहार गरे।
मलेसियाका लागि अस्लाम खान मलिकले एक मात्र विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन बनाएको थियो। उसका लागि मोहम्मद स्याहदत रमीलले ६१, सैफुल्लाह मलिकले ४५, कप्तान सैयद अजिजले ४०, विरनदिप सिंहले ३९ र अकिल वाहिदले १५ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ५४ रन खर्चिए। करण केसीले दुई तथा दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए।
नेपालले एसीसी प्रिमियर कपको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको हो।