काठमाडौं । सरकारले उखु किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अघि बढाएको छ।
यसका लागि कृषि विभागले उखुखेती हुने तराईका ११ जिल्लामा स्थलगत अध्ययन सुरु गरेको छ।
विभागको टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुर पुगेर किसानको वास्तविक उत्पादन लागत तथा अन्य खर्चको विवरण संकलन गरिरहेको छ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार सर्वेक्षणबाट प्राप्त यथार्थ विवरणका आधारमा नयाँ समर्थन मूल्य प्रस्ताव गरिनेछ।
अध्ययनमा अघिल्ला वर्षको तुलनामा ढुवानी, उत्पादन तथा अन्य खर्चमा आएको परिवर्तनको समेत मूल्यांकन गरिनेछ।
विभागले अध्ययन प्रतिवेदन तयार गरेपछि थप छलफल र सहमतिका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयमा पेस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले उखुको खरिद मूल्य र किसानलाई उपलब्ध गराउने अनुदान रकमको अन्तिम टुंगो लगाउनेछ।
अघिल्लो वर्ष सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ र किसानलाई दिने अनुदान ७० रुपैयाँ कायम गरेको थियो।