पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ। मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले आफ्ना मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो।
एमाले सांसद सुधीर पौडेलका अनुसार दलको बैठकले चार मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। यससँगै २०८१ असार १७ गते कांग्रेस–एमालेबीच भएको सत्ता सहकार्य पनि गण्डकीमा अन्त्य भएको छ।
गण्डकी प्रदेशसभामा एमालेका २२ र नेकपाका ७ सांसद छन्। ५९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३० सांसद आवश्यक पर्छ। कांग्रेससँग २७ सांसद छन् भने राप्रपाका दुई र नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा छन्।
राप्रपाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ। एमाले बाहिरिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणीन्द्र देवकोटासहित कांग्रेसबाट थप मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।