देवानगञ्ज घटनापछि सर्वपक्षीय सहमति, सामाजिक सद्भाव कायम गर्न सबै पक्ष प्रतिबद्ध

एक दिन अगाडि
देवानगञ्ज घटनापछि सर्वपक्षीय सहमति, सामाजिक सद्भाव कायम गर्न सबै पक्ष प्रतिबद्ध

सुनसरी । देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि बिग्रिएको अवस्था सामान्य बनाउन सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरू सहभागी थिए।

बैठकले घटनालाई थप जटिल बन्न नदिन, अफवाह फैलिन नदिन र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले शान्ति–सुरक्षा र सामाजिक एकता कायम गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

आइतबार बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा १३ सुरक्षाकर्मी र ९ सर्वसाधारण घाइते भएका छन्।