आकस्मिकबाहेक स्वास्थ्य सेवा आज पनि ठप्प, चिकित्सकहरूको माइतीघरमा प्रदर्शन

३ हप्ता अगाडि
आकस्मिकबाहेक स्वास्थ्य सेवा आज पनि ठप्प, चिकित्सकहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनाका दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै आज (बुधबार) पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।

संघले मंगलबार सार्वजनिक गरेको आन्दोलन कार्यक्रमअनुसार आज बिहान १० बजे काठमाडौंको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गर्दै छन् ।

त्यस्तै, काठमाडौं बाहिरका जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने, साथै आ–आफ्नो कार्यस्थलमा धर्ना र विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ।

नेपाल चिकित्सक संघले नारायणी अस्पतालमा भएको घटनाका संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने संघले जनाएको छ।

यस आन्दोलनका कारण देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका नियमित स्वास्थ्य सेवामा असर परेको छ।