काठमाडौं । उत्तरी कुवेतमा भएको आक्रमणमा परी एक जना नेपाली नागरिकको मृत्यु भएको छ। घटनाबारे आधिकारिक पुष्टि गर्दै परराष्ट्र मन्त्रालयले मृतकको पहिचान तथा घटनाको विस्तृत विवरण संकलन गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपाली राजदूतावास, कुवेतलाई घटनाको सत्यतथ्य र विस्तृत विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिइसकेको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार कुवेतस्थित नेपाली राजदूतावासले सम्बन्धित सरकारी निकाय तथा मृतक कार्यरत कम्पनीसँग निरन्तर सम्पर्कमा रही घटनाबारे जानकारी संकलन गरिरहेको छ।
परराष्ट्र मन्त्रालयले घटनासम्बन्धी थप विवरण प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने जनाएको छ।