ब्रड पिकमा हिमपहिरोपछि निम्स दाईसहित करिब १० आरोही सम्पर्कविहीन

३ हप्ता अगाडि
ब्रड पिकमा हिमपहिरोपछि निम्स दाईसहित करिब १० आरोही सम्पर्कविहीन

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरो गएपछि प्रसिद्ध नेपाली पर्वतारोही निम्स दाई (निर्मल पुर्जा)सहित करिब १० जना आरोहीसँग सम्पर्क विच्छेद भएको छ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बिहीबार स्थानीय समयअनुसार दिउँसो हिमपहिरो खसेपछि अभियानमा सहभागी टोलीसँग सम्पर्क टुटेको हो।

पाकिस्तानी समाचार संस्था डनका अनुसार घटनास्थलबाट चार जनाको शव फेला परेको छ। यद्यपि सम्पर्कविहीन आरोहीहरूको अवस्थाबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

सम्पर्कविहीन टोलीमा निम्स दाईको नेतृत्वमा रहेका पाँच नेपाली आरोही, पाकिस्तानका सोहेल साखी, ओमानकी नधिरा, अमेरिकी आरोही म्यालोरी गाइस, चिनियाँ आरोही मिस्टर वाङ तथा अर्का एक विदेशी आरोही रहेका छन्।

अल्पाइन क्लब अफ पाकिस्तानले मौसम अनुकूल हुनेबित्तिकै हेलिकप्टरसहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गर्ने तयारी भइरहेको जनाएको छ। ब्रड पिक विश्वको १२औँ अग्लो हिमाल हो र यसलाई विश्वका सबैभन्दा चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ।