काठमाडौं । इरानी मिसाइल आक्रमणमा परी ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ।
उनको शव गए राति कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
तामाङ सन् २०२२ देखि खाडी राष्ट्र कुवेतमा चालकका रूपमा कार्यरत थिए। गत बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनमा भएको इरानी मिसाइल आक्रमणमा उनी घटनास्थलमै मृत्यु भएको थियो।
पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण ज्यान गुमाउने उनी दोस्रो नेपाली नागरिक हुन्।
कुवेतस्थित नेपाली दूतावासले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने व्यवस्था गरेको जनाएको छ। अब परिवारलाई अन्तिम संस्कारका लागि शव हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ।
यस घटनाप्रति शोक व्यक्त गर्दै सरकारले प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने भएको छ ।