ब्रड पिक हिमपहिरो : १० मध्ये ८ आरोहीको शव फेला, दुई अझै बेपत्ता

३ हप्ता अगाडि
ब्रड पिक हिमपहिरो : १० मध्ये ८ आरोहीको शव फेला, दुई अझै बेपत्ता

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा बेपत्ता भएका १० आरोहीमध्ये आठ जनाको शव फेला परेको छ। आइतबार अपराह्नसम्म उद्धारकर्ताले आठ जनाको शव फेला पारेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा "निम्स दाइ"सहित १० जना आरोही बिहीबार गएको हिमपहिरोमा बेपत्ता भएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाली आरोही पुरबहादुर गुरुङ "युक्ता" र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित स्थानमा झारिसकिएको छ।

यस्तै, निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’ र निमा शेर्पाको शव पनि उद्धारकर्ताले आइतबार फेला पारी क्याम्प–१ तर्फ ल्याइरहेका छन्। अर्को एक शव फेला परे पनि त्यसको सनाखत हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

हराइरहेका नेपाली आरोही नवाङ थिन्डु शेर्पा र पाकिस्तानका सोहेल साखीको अवस्था अझै अज्ञात छ। ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङ झोङको शव भने यसअघि नै फेला परिसकेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाली आरोहीहरूको शव स्वदेश ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय गरिरहेको छ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा करिब ६,६०० मिटर उचाइमा गएको हिमपहिरोमा यी आरोहीहरू परेका थिए।