काठमाडौं । उपभोक्ता मञ्च नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको दाबी गर्दै त्यसमा संलग्न बिचौलिया र व्यापारीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। मञ्चले सोमबार विज्ञप्ति जारी गर्दै ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको हो।
मञ्चका प्रवक्ता उज्वलराज गौतमद्वारा जारी विज्ञप्तिमा भारतबाट ग्यास आयात, ढुवानी र आपूर्ति सहज रूपमा भइरहे पनि उपभोक्ता घण्टौँ लाइनमा बस्न बाध्य हुनु कृत्रिम अभावको स्पष्ट संकेत भएको उल्लेख गरिएको छ। ग्यास सञ्चितीकरण गरी बढी मूल्यमा बिक्री गर्ने प्रवृत्तिले सर्वसाधारणलाई थप सास्ती दिएको मञ्चको भनाइ छ।
मञ्चले चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भइरहेको भन्दै सरकारको बजार अनुगमन प्रभावहीन बनेको आरोप पनि लगाएको छ। चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल, मासु र अण्डालगायत वस्तुको मूल्य बिना ठोस आधार बढाइएको दाबी गरिएको छ।
विज्ञप्तिमार्फत मञ्चले बजारमा भइरहेको नाफाखोरी, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न तत्काल संयुक्त अनुगमन टोली परिचालन गर्न माग गरेको छ। साथै उपभोक्तामाथि परेको आर्थिक भार कम गर्न राहत तथा सहजीकरणका कार्यक्रम ल्याउन आग्रह गर्दै माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।