काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न जिल्ला अदालत भक्तपुरले अस्वीकार गर्दै रिहा गर्न आदेश दिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति माग्दै सोमबार अदालतमा उपस्थित गराएको थियो।
प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत म्याद थपको अनुमति मागे पनि अदालतले त्यसलाई अस्वीकार गरेको हो। अदालतले प्रसाईंलाई थुनामा नराखी रिहा गर्न आदेश दिएको जनाएको छ।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार राति उनकै निवासबाट पक्राउ गरेको थियो। पक्राउको कारणबारे प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।
यता, प्रसाईंलाई पक्राउ गरिएको विषयलाई लिएर उनकी पत्नी उमा प्रसाईंले सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दायर गरेकी छन्। अदालतको आदेशसँगै प्रसाईं रिहा हुने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।