काठमाडौं । सरकारले विदेशस्थित विभिन्न नेपाली नियोगका लागि एकैपटक २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी गरेको छ। परराष्ट्र मन्त्रालयले आगामी मन्त्रिपरिषद् बैठकमा करिअर कूटनीतिज्ञ र राजनीतिक कोटाबाट संयुक्त रूपमा राजदूत नियुक्तिको प्रस्ताव लैजाने तयारी गरेको स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अस्ट्रेलिया, चीन, भारत, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, रुस, साउदी अरेबिया, कतार, मलेसिया, इजरायल, ओमान, स्पेन, जर्मनी, श्रीलंका, इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार तथा राष्ट्रसंघीय नियोग भियनासहित २१ स्थानका लागि राजदूत सिफारिस गर्न लागिएको हो।
मन्त्रालयले करिअर र राजनीतिक नियुक्तिलाई करिब ५०–५० प्रतिशतको अनुपातमा मिलाउने तयारी गरेको छ। करिअर कूटनीतिज्ञतर्फ गणेशप्रसाद ढकाल, भृगु ढुंगाना, दिलीपकुमार पौडेल, कुमारराज खरेल र विष्णुप्रसाद गौतमलगायतको नाम चर्चामा रहेको स्रोतको दाबी छ। राजनीतिक कोटाबाट नियुक्त हुनेहरूको नाम भने गोप्य राखिएको छ।
हाल विदेशस्थित १६ वटा नेपाली दूतावास राजदूतविहीन छन् भने कार्यकाल सकिएका केही राजदूतलाई नयाँ नियुक्ति नहुँदासम्म जिम्मेवारीमै निरन्तरता दिइएको छ। यसैबीच सरकारले दक्षिण अफ्रिका, ब्राजिल, डेनमार्कका दूतावास तथा अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेङ्दुस्थित महावाणिज्यदूतावास बन्द गर्ने निर्णय पनि अघि बढाइरहेको छ।
परराष्ट्र मन्त्रालयले यसअघि १३ देशका राजदूतका लागि खुला आवेदन आह्वान गरेको थियो, जसमा झन्डै चार हजार आवेदन परेको जनाइएको छ। अब तीमध्ये राजनीतिक र करिअर दुवै समूहबाट छनोट गरी मन्त्रिपरिषद्बाट नियुक्ति प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।