काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धमा पछिल्ला आक्रमण र प्रत्याक्रमण थप घातक बनेका छन्। दुवै पक्षबाट भएका पछिल्ला सैन्य कारबाहीमा कम्तीमा २७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रुसी समाचार संस्था तासका अनुसार मंगलबार मस्को क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। ड्रोनका भग्नावशेष खस्दा रुसको क्रास्नोडार क्षेत्रमा पनि थप क्षति पुगेको जनाइएको छ।
उता, रुसले गरेको आक्रमणमा युक्रेनको दिनिप्रोपेत्रोभ्स्क क्षेत्रमा रहेको एक पेट्रोल स्टेसनमा तीन जनाको ज्यान गएको छ। उक्त क्षेत्रका गभर्नर ओलेक्सान्द्र हन्जाले २१ जना घाइते भएको र तीमध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताएका छन्।
यसबाहेक जापोरिझ्झिया क्षेत्रमा भएको अर्को रुसी आक्रमणमा आठ जनाको मृत्यु भएको जनाइएको छ। पछिल्ला आक्रमणसँगै दुवै देशबीचको युद्ध थप तीव्र बन्दै गएको छ।