कप्तानगन्ज हिंसापछि सुरक्षा अवस्थाबारे गृहमन्त्रीले प्रधानमन्त्री बालेनलाई दिए ‘ब्रिफिङ’

३ हप्ता अगाडि
कप्तानगन्ज हिंसापछि सुरक्षा अवस्थाबारे गृहमन्त्रीले प्रधानमन्त्री बालेनलाई दिए ‘ब्रिफिङ’

काठमाडौं । सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि विकसित सुरक्षा अवस्थाबारे गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई विस्तृत ‘ब्रिफिङ’ गरेका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर गृहमन्त्री गुरुङले घटनापछि अपनाइएका सुरक्षा रणनीति र पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन्।

सिंहदरबार स्रोतका अनुसार साउन १० गते कप्तानगन्जमा भएको दुई समुदायबीचको विवाद, त्यसपछि विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्था र सरकारले अवलम्बन गरेका रणनीतिबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको हो।

कप्तानगन्जमा भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यस घटनामा घाइते भएका अन्य दुई जनाको उपचारका क्रममा ज्यान गएको थियो। त्यसपछि सिरहाको गोलबजारमा उत्पन्न तनावका क्रममा प्रहरीले चलाएको गोली लागेर अर्का एक जनाको पनि मृत्यु भएको थियो।

गृहमन्त्री गुरुङ घटनास्थलको स्थलगत अनुगमन गरी दुई दिनअघि मात्रै काठमाडौं फर्किएका थिए। पछिल्लो सुरक्षा अवस्था, संवेदनशील क्षेत्रको निगरानी तथा आगामी रणनीतिबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको स्रोतले जनाएको छ।