काठमाडौं । रुसले मंगलबार अबेर राति युक्रेनको राजधानी किभमा ठूलो हवाई आक्रमण गरेको छ। क्षेप्यास्त्र प्रहारसहित भएको हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको तथा २२ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार युक्रेनको सैन्य प्रशासन प्रमुख तैमुर तकाचेन्कोले रुसले राजधानी किभलाई लक्षित गर्दै ठूलो आक्रमण गरेको पुष्टि गरेका छन्। उनका अनुसार सहरभित्र र वरपर धेरैवटा क्षेप्यास्त्र खसेका छन्।
अधिकारीहरूका अनुसार बोरिसपिल जिल्लामा नौ जना, बुचा जिल्लामा चार जना र फास्टिभ जिल्लामा एक जनाको मृत्यु भएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
युक्रेनी सेनाले रुसले जानाजानी नागरिक बस्ती र आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ। तर रुसले भने घटनाबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको
छैन।