काठमाडौं । दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच विवादित स्कारबोरो रिफ (स्कारबोरो शोअल) लाई लिएर तनाव फेरि बढेको छ । चीनले उक्त क्षेत्रमा 'नेसनल नेचर रिजर्भ' लागू गर्दै नयाँ व्यवस्थापन नियम अघि बढाएपछि अमेरिकाले त्यसप्रति कडा आपत्ति जनाएको हो ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार चीनको कदमप्रति विरोध जनाउँदै यसले फिलिपिन्सका माछा मार्नेहरूलाई उनीहरूको परम्परागत माछा मार्ने क्षेत्रमा पहुँचबाट रोक्न सक्ने बताएको छ ।
अमेरिकाले स्कारबोरो रिफमा चीनले लागू गर्न खोजेको ‘नेसनल नेचर रिजर्भ’लाई अस्वीकार गर्ने स्पष्ट पारेको छ । चीनले वातावरणीय संरक्षण र कानुनी आधारलाई देखाउँदै दक्षिण चीन सागरमा आफ्नो व्यापक क्षेत्रीय तथा सामुद्रिक दाबीलाई थप बलियो बनाउन खोजेको आरोप पनि अमेरिकाले लगाएको छ ।
चीनले नयाँ व्यवस्थापन नियम लागू गर्दै
‘चाइना डेली’का अनुसार चीनले स्कारबोरो रिफमा हालै स्थापित ‘नेसनल नेचर रिजर्भ’ व्यवस्थापनका लागि नयाँ उपाय सार्वजनिक गरेको छ । अगस्ट १ मा जारी गरिएका नयाँ व्यवस्थापन उपायमा १६ वटा धाराहरू समावेश छन् ।
चीनको स्टेट काउन्सिलले सन् २०२५ को सेप्टेम्बरमा स्कारबोरो रिफमा ‘नेसनल नेचर रिजर्भ’ स्थापना गर्ने प्रस्तावलाई स्वीकृति दिएको थियो ।
नयाँ व्यवस्थाअन्तर्गत चारवटा चिनियाँ निकायले संयुक्त रूपमा क्षेत्रको निगरानी र व्यवस्थापन गर्नेछन् । यसमा चीनको प्राकृतिक स्रोत मन्त्रालय, नेसनल फरेस्ट्री एन्ड ग्रासल्यान्ड एडमिनिस्ट्रेसन, चाइना कोस्ट गार्ड र हेनान प्रान्तको जनसरकार रहेका छन् ।
यी निकायबीच समन्वय संयन्त्र स्थापना गरी सूचना आदानप्रदान, आपसी सहयोग तथा गैरकानुनी गतिविधिमाथि निगरानी र कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउने व्यवस्था गरिएको छ ।
फिलिपिन्सको पक्षमा अमेरिकाको स्पष्ट समर्थन
चीनको पछिल्लो कदमपछि अमेरिकाले आफू स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रको पक्षमा रहेको दोहोर्याउँदै आफ्नो सहयोगी फिलिपिन्सको साथमा उभिने जनाएको छ ।
स्कारबोरो रिफलाई फिलिपिन्स तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरूमा ‘स्कारबोरो शोअल’ पनि भनिन्छ । यो क्षेत्रमा चीन र फिलिपिन्सबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।
चीनले नयाँ व्यवस्थापन संरचनामार्फत उक्त क्षेत्रमा आफ्नो प्रशासनिक तथा कानुनी उपस्थितिलाई थप संस्थागत गर्न खोजेको विश्लेषण गरिएको छ । यसले फिलिपिन्सका माछा मार्नेहरूको परम्परागत गतिविधि र पहुँचमा असर पार्न सक्ने भन्दै चिन्ता बढेको छ ।
दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधि र फिलिपिन्ससँगको क्षेत्रीय विवादका बीच अमेरिकाको पछिल्लो प्रतिक्रियाले यस क्षेत्रमा चीन–अमेरिका तथा चीन–फिलिपिन्स तनाव थप चर्किन सक्ने संकेत गरेको छ ।