ब्राजिलमा हेलिकोप्टर दुर्घटना, तीन महिलासहित चार जनाको मृत्यु

एक महिना अगाडि
ब्राजिलमा हेलिकोप्टर दुर्घटना, तीन महिलासहित चार जनाको मृत्यु

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा हेलिकोप्टर दुर्घटना हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको छ।

रियो दि जेनेरियोस्थित अल्टो दा बोआ भिस्टाको भिस्टा चिनेसा क्षेत्रमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि जंगलमा आगलागीसमेत भएको बताइएको छ।

घटनाको जानकारी पाएपछि उद्धार टोली घटनास्थलमा पुगेको थियो। उद्धार टोलीले जंगल क्षेत्रमा हेलिकोप्टरको भग्नावशेष फेला पारेको जनाएको छ।

मृतकमध्ये हेलिकोप्टरका चालक र कोलम्बियाको एउटै परिवारका तीन महिला रहेको बताइएको छ।

घटनाप्रति रियो दि जेनेरियोका नगर प्रमुखले दुःख व्यक्त गर्दै नागरिक उड्डयन निकायलाई उडान सुरक्षामा निगरानी थप कडा बनाउन आग्रह गरेका छन्।

पछिल्लो दुर्घटनाको वास्तविक कारण भने खुलिसकेको छैन। दुर्घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ।

रियो दि जेनेरियोमा यसअघि पनि हेलिकोप्टर दुर्घटना भएका छन्। गत जुनमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा छ जनाको मृत्यु भएको थियो।