काठमाडौं । अमेरिकाले एच-१ बी भिसामा कार्यरत विदेशी कामदारले रोजगारी गुमाएपछि नयाँ काम खोज्न पाउने ६० दिनको समयसीमा हटाउने विषयमा विचार गरिरहेको छ। प्रस्ताव हाल ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयमा पठाइएको छ। तर यो व्यवस्था अहिलेसम्म लागू भइसकेको छैन।
हालको नियमअनुसार एच-१ बी भिसामा रहेका विदेशी कामदारले रोजगारी गुमाएपछि बढीमा ६० दिनसम्म अमेरिकामै बसेर नयाँ रोजगारी खोज्न पाउँछन्। यस अवधिमा उनीहरूले नयाँ रोजगारदाता खोज्नुका साथै आफ्नो भिसा अवस्था कायम राख्न आवश्यक प्रक्रिया अघि बढाउन सक्छन्।
नयाँ रोजगारदाताले एच-१ बी भिसाका लागि आवेदन दिएमा केही अवस्थामा आवेदन स्वीकृत हुनुअघि नै नयाँ काम सुरु गर्न सक्ने सुविधा पनि हालको व्यवस्थामा छ।
६० दिनभित्र नयाँ रोजगारी प्राप्त गर्न नसकेमा सम्बन्धित कामदारले आफ्नो भिसा अवस्था परिवर्तन गर्न वा अमेरिकामा कानुनी रूपमा बस्न उपलब्ध अन्य विकल्प खोज्नुपर्ने हुन्छ। केही अवस्थामा आश्रित वा भ्रमण भिसामा परिवर्तनका लागि आवेदन दिन सकिने तथा स्थायी बसोबासका लागि योग्य भए त्यससम्बन्धी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ।
प्रस्तावित परिवर्तन लागू भएमा रोजगारी गुमाउने एच–१ बी भिसाधारी विदेशी नागरिकका लागि अमेरिकामा बसिरहन थप कठिन हुन सक्नेछ। उपलब्ध विवरणअनुसार अमेरिकामा एच–१ बी भिसामा कार्यरत ठूलो संख्याका विदेशी नागरिक यसबाट प्रभावित हुन सक्नेछन्।
यसैबीच, अमेरिकी माथिल्लो सदनमा पछिल्लो सात वर्षदेखि निरन्तर अमेरिकामा बसिरहेका व्यक्तिलाई स्थायी बसोबासका लागि आवेदन दिन सक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको विधेयकसमेत पेस भएको छ।