काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथसहित विभिन्न शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुहरू पूजा-आराधना तथा दर्शनका लागि पुगेका छन् ।
साउनका प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समापन गर्दैछन् । धार्मिक विश्वासअनुसार साउनका अन्य सोमबार व्रत बस्न नपाएकाले अन्तिम सोमबार व्रत बसेर शिवको पूजा–आराधना गरे पनि मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
भगवान् शिवको प्रिय बारका रूपमा सोमबारलाई लिइने भएकाले साउनका सोमबार विशेषगरी व्रत, पूजापाठ, दान तथा धार्मिक कार्य गर्ने चलन छ ।
यसैगरी, बोलबम तीर्थालुको समेत देशभरका शिवालयमा भीड लागेको छ । काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको संख्या बिहानैदेखि बढेको छ ।
पशुपतिनाथसँगै भक्तपुरको डोलेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर तथा कलानेश्वर र दाङको धारपानीलगायतका शिवालयमा पनि भक्तजनको उल्लेख्य उपस्थिति छ ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा समेत साउनको अन्तिम सोमबार पूजा–आराधना गर्ने तथा बोलबम मेला भर्न जाने भक्तजनको भीड लागेको छ ।सोमप्रदोष व्रतको संयोग
यस वर्ष साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको धर्मशास्त्रका जानकारहरूले बताएका छन् । उनीहरूका अनुसार सोमबारका दिन त्रयोदशी तिथि परेमा त्यसलाई सोमप्रदोष भनिन्छ ।
‘प्रदोष’ सूर्यास्त आसपासको विशेष समयलाई जनाउँछ, जसलाई भगवान् शिवको पूजाका लागि शुभ मानिन्छ । प्रदोषकालमा शिव मन्दिरमा गई दीप प्रज्वलनसहित पूजा–आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
यस दिन दूध, दही, घ्यू तथा बेलपत्रले भगवान् शिवको पूजा गर्ने तथा विभिन्न सामग्री अर्पण गर्ने चलन छ । धार्मिक मान्यताअनुसार प्रदोषकालमा गरिने शिवपूजा विशेष फलदायी मानिन्छ ।