काठमाडौं । कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ। भूकम्पका कारण ठूलो भौतिक क्षति भएको छ भने भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंका गरिएको छ।
बीबीसीका अनुसार भूकम्पबाट भएको क्षतिको अवस्था गम्भीर बनेपछि कोलम्बिया सरकारले देशमा आपत्कालीन अवस्था घोषणा गरेको छ। उद्धार तथा राहत कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन्।
कोलम्बियाको भूगर्भ सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तमा जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा रहेको थियो।
पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा कफी उत्पादनका लागि प्रसिद्ध पेरेरा सहर र आसपासका क्षेत्र रहेका छन्।
भ्याले डेल काउका क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ। भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरेरा सहरमा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
पेरेरा र आसपासका क्षेत्रमा ६५ वटा भवन भत्किएका छन्। तीमध्ये १५ वटा भवनमा मानिसहरू फसेको आशंका गरिएको छ।
भत्किएका भवन तथा संरचनामुनि फसेकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।