अण्डाको समर्थन मूल्य बढ्यो, एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ

२ हप्ता अगाडि
अण्डाको समर्थन मूल्य बढ्यो, एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य वृद्धि गरेका छन्। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी विभिन्न आकारका अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।

संघका अनुसार एक्सएल अण्डाको समर्थन मूल्य ३० वटा रहेको एक क्रेटको ५६० रुपैयाँ कायम गरिएको छ। त्यस्तै ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५४५ रुपैयाँ र मिडियम अण्डाको मूल्य ५०० रुपैयाँ निर्धारण गरिएको छ।

सानो अण्डाको समर्थन मूल्य भने प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको संघले जनाएको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको संक्रमण घट्नुका साथै रोगका कारण ठूलो संख्यामा कुखुरा मरेकाले अण्डाको उत्पादन घटेको छ। उत्पादन घटेपछि बजारमा माग बढेकाले अण्डाको मूल्य वृद्धि गर्नुपरेको उनले बताए।

फार्महरूले उपलब्ध गराएको मूल्यका आधारमा समर्थन मूल्य निर्धारण गरिएको पोखरेलले बताए। मूल्य बढे पनि किसानले अझै लागतअनुसारको मूल्य पाउन नसकेको उनको भनाइ छ।

उनका अनुसार एउटा अण्डाको उत्पादन लागत करिब १९ रुपैयाँ १२ पैसा पर्छ। यस आधारमा ३० वटा अण्डाको एक क्रेटको लागत करिब ५७३ रुपैयाँ ६० पैसा पुग्छ।

बर्डफ्लुका कारण विगतमा किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको व्यवसायीहरू बताउँछन्। उत्पादन लागतअनुसारको मूल्य नपाउँदा पछिल्ला केही वर्षदेखि किसान कुखुरापालन व्यवसायबाट पलायन हुने क्रम बढेको उनीहरूको भनाइ छ।

पछिल्लो समय अण्डा उत्पादन घट्नु, कुखुरामा विभिन्न रोग देखिनु तथा बर्डफ्लुका कारण कुखुरा मर्नुलगायतका कारणले बजारमा आपूर्ति प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।

अण्डाको मूल्य नपाउँदा किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको र धेरै किसान बैंकको ऋणमा निर्भर हुन थालेको संघका अध्यक्ष पोखरेलले बताए।