काठमाडौं । इन्डोनेसियाको फ्लोरेस क्षेत्रमा शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.७ म्याग्निच्युडको भूकम्प स्थानीय समयअनुसार बिहान करिब ५ः५८ बजे गएको हो।
भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेन्गारा प्रान्तको एन्डे सहरबाट करिब ६८ किलोमिटर उत्तर–उत्तरपश्चिमतर्फ, समुद्री सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
भूकम्पका कारण विभिन्न क्षेत्रमा भवन तथा घरहरूमा क्षति पुगेको छ। केही संरचना भत्किएका छन् भने अस्पताललगायतका स्थानबाट मानिसहरू सुरक्षित ठाउँमा सारिएका छन्। शक्तिशाली धक्कापछि स्थानीय बासिन्दामा भागदौड र त्रासको अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो विवरणअनुसार भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम जारी रहेकाले मृतक तथा घाइतेको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
मुख्य भूकम्पपछि ५.९, ५.६ र ६.१ म्याग्निच्युडका शक्तिशाली परकम्पसमेत मापन भएका छन्। थप परकम्प आउन सक्ने भन्दै स्थानीय अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।
भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गरेका थिए। त्यसपछि स्थानीय बासिन्दालाई समुद्री किनार र नदीको तटीय क्षेत्रबाट टाढा जान तथा अग्लो स्थानमा जान आग्रह गरिएको थियो। केही घण्टापछि सुनामी चेतावनी हटाइएको छ।
भूकम्पबाट प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति तथा सञ्चारमा समेत समस्या देखिएको र उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।