काठमाडौं । अमेरिकाले उत्तर-पश्चिमी सिरियाको इडलिब प्रान्तस्थित अबु अल-दुहुर सैन्य हवाई अड्डामा इजरायलले गरेको हवाई आक्रमणप्रति आपत्ति जनाउँदै यसलाई 'अनावश्यक रूपमा तनाव बढाउने कदम' भनेको छ।
सिरिया र इराकका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत टम ब्यारेकले सबै पक्षलाई सैन्य कारबाहीको सट्टा कूटनीतिक संवाद र वार्तालाई प्राथमिकता दिन आग्रह गरेका छन्।
ब्यारेकले सामाजिक सञ्जाल एक्समा इजरायली आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सिरियाली राष्ट्रपति अहमद अल-सरा नेतृत्वको सरकारले आक्रामक अडान नलिएको र कुनै प्रोक्सी सेना नराखेको दाबी गरेका छन्। उनका अनुसार सिरियाले इजरायलसँग तनाव कम गर्ने इच्छा पटक-पटक व्यक्त गर्दै आएको छ।
अमेरिकाले यसअघि पनि सैन्य कारबाहीको सट्टा कूटनीतिक संवादमार्फत दुई देशबीच तनाव कम गर्ने प्रयासस्वरूप वार्ता आयोजना गरेको र आगामी दिनमा पनि संवादलाई निरन्तरता दिने ब्यारेकले बताएका छन्।
उनले सबै पक्षलाई वार्तालाई प्राथमिकता दिन आग्रह गर्दै संवाद नै तनाव समाधानका लागि रचनात्मक बाटो भएको अमेरिकाको विश्वास रहेको उल्लेख गरेका छन्।
यसैबीच, कतारले पनि अबु अल-दुहुर एयरबेसमा भएको इजरायली हवाई आक्रमणको कडा निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त आक्रमण सिरियाको सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डतामाथिको गम्भीर उल्लंघन भएको जनाएको छ। साथै, आक्रमणले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रका प्रावधानसमेत उल्लंघन गरेको कतारको भनाइ छ।
बीबीसी फारसीका अनुसार सिरियाको विदेश मन्त्रालयले पनि एयरबेसमा भएको आक्रमणलाई ‘अन्यायपूर्ण’ भन्दै निन्दा गरेको छ।
इजरायलले टर्की सेनाको सम्भावित गतिविधि रोक्ने उद्देश्यले मंगलबार उत्तर-पश्चिमी सिरियास्थित उक्त हवाई अड्डामा आक्रमण गरेको बताइएको छ। आक्रमणपछि सिरियामा इजरायल, टर्की र नयाँ सिरियाली सरकारबीचको क्षेत्रीय तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ।