इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

३ हप्ता अगाडि
इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिनाभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका हुन्।

बुधबार ट्रुथ सोसलमार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाही अघि बढाउने चेतावनी दिएका छन्। उनले इरानले सम्झौता गर्ने अवसरको सदुपयोग नगरेको भन्दै अब उसले कठोर आर्थिक दबाब र अन्तर्राष्ट्रिय एक्लोपनाको सामना गर्नुपर्ने बताएका छन्।

ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने अन्य देशमाथि समेत प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। इरानलाई वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशले ठूलो आर्थिक परिणाम भोग्नुपर्ने उनको भनाइ छ।

उनले इरानको तेल तस्करी, स्वाप लाइन, नगद हस्तान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा अग्र कम्पनीमार्फत हुने कारोबार तत्काल रोक्नुपर्ने बताएका छन्।

ट्रम्पले इरानबाट उत्पन्न खतरा हटाउन र त्यसलाई परास्त गर्न अमेरिकाका सबै सहयोगी राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी भने नयाँ होइन। अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रलाई लक्षित गर्दै विभिन्न प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो चेतावनीले भने इरानसँग व्यापार गर्ने तेस्रो देशलाई समेत अमेरिकी प्रतिबन्धको दायरामा ल्याउने सम्भावना बढाएको छ।