इमरान खानलाई जेलबाट निजी अस्पताल सारियो

३ हप्ता अगाडि
इमरान खानलाई जेलबाट निजी अस्पताल सारियो

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा विश्वविजेता क्रिकेटर इमरान खानलाई सर्वोच्च अदालतको आदेशपछि जेलबाट निजी अस्पतालमा सारिएको छ। ७३ वर्षीय इमरानलाई शुक्रबार बिहान कडा सुरक्षा व्यवस्थाबीच आदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको हो।

बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बहुविषयगत चिकित्सक टोलीबाट परीक्षण तथा उपचार गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो। इमरानको दल पाकिस्तान तेहरिक–ए–इन्साफले पनि उनलाई अस्पताल सारिएको पुष्टि गरेको छ।

इमरानको स्वास्थ्यबारे उनको दल र कानुनी टोलीले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका थिए। सन् २०२३ अगस्टदेखि जेलमा रहेका इमरान भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामा सजाय भोगिरहेका छन्। उनले र उनको दलले भने आरोपहरू राजनीतिक प्रेरित भएको दाबी गर्दै आएका छन्।