भोटेकोशी बाढीपछि सेना, सशस्त्र र प्रहरी परिचालन, हेलिकोप्टरसमेत तयारी अवस्थामा

५ घण्टा अगाडि
भोटेकोशी बाढीपछि सेना, सशस्त्र र प्रहरी परिचालन, हेलिकोप्टरसमेत तयारी अवस्थामा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अन्य जिल्लाबाट समेत अतिरिक्त सुरक्षा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको जानकारी दिएका छन्।

उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरण सक्रिय पारिएको छ भने मेडिकल टोली, नेपाल स्काउट र रेडक्रसलगायतसँग समन्वय गरी उद्धार तथा राहतको काम अघि बढाइएको छ।

अतिरिक्त एम्बुलेन्स तथा मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया पनि सुरु गरिएको उनले बताएका छन्।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।

सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकोप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको र निजी हेलिकोप्टर कम्पनीहरूलाई समेत तयारी अवस्थामा राख्न भनिएको प्रधानमन्त्री शाहले बताएका छन्।

उनका अनुसार केही हेलिकोप्टर प्रभावित क्षेत्रतर्फ गइसकेका छन्।

बाढीको अवस्थाबारे थप आवश्यक निर्णय लिन उच्चस्तरीय बैठकसमेत बोलाइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।