काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीका कारण प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार संसद्मा सामना गर्ने तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित हुने सम्भावना बढेको छ।
संसद् सचिवालय स्रोतका अनुसार बाढीका कारण प्रधानमन्त्री उद्धार तथा राहत व्यवस्थापनमा व्यस्त रहेकाले आजका लागि निर्धारित प्रश्नोत्तर कार्यक्रम स्थगित गर्ने तयारी भइरहेको छ।
प्रधानमन्त्री शाहले केहीबेरअघि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए। त्यसलगत्तै उनले मन्त्रिपरिषद्को आकस्मिक बैठकसमेत बोलाएका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारले उच्च प्राथमिकतामा काम गरिरहेका बेला संसद्मा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम स्थगित गर्ने तयारी भएको हो।
यस विषयमा गृहमन्त्री सुधन गुरुङले संसद्लाई घटनाबारे जानकारी गराउने तयारी रहेको स्रोतले जनाएको छ। गृहमन्त्री गुरुङ स्वयं पनि बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि जाने सम्भावना रहेको उनको निजी सचिवालयले जनाएको छ।