काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार बाढीपछि विभिन्न सात जिल्लामा गरी ९५ जनाको शव फेला परेको हो। फेला परेका शवमध्ये २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक र २० जनाको पहिचान खुल्न बाँकी रहेको छ।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव भेटिएको छ।
त्यस्तै, धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनासहित १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनासहित १६ जनाको शव भेटिएको छ।
चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जनासहित ३३ जनाको शव फेला परेको छ।
तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक गरी ५ जनाको शव भेटिएको छ। यस्तै, नवलपरासी पूर्वमा ८ पुरुष र ३ बालिकासहित ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। प्रहरीले बेपत्ता तथा प्रभावित व्यक्तिहरूको खोजीलाई निरन्तरता दिएको जनाएको छ।