आज देशभर जनैपूर्णिमा मनाइँदै, पशुपति लगायतका मन्दिरमा भीड

२ हप्ता अगाडि
आज देशभर जनैपूर्णिमा मनाइँदै, पशुपति लगायतका मन्दिरमा भीड

काठमाडौं । देशभर आज नवयज्ञोपवीत (जनै) तथा रक्षाबन्धन धारण गर्दै जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बी नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गरी गुरु-पुरोहितबाट रक्षासूत्र बाँधेर पर्व मनाउने गर्छन् ।

तागाधारी समुदायले गुरु–पुरोहितबाट विधिपूर्वक मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) धारण गर्ने तथा रक्षासूत्र बाँध्ने परम्परा छ। धार्मिक मान्यताअनुसार मन्त्रिएको जनै र रक्षासूत्र धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ।

मानव रक्षाका लागि जप, तप तथा पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारणसहित ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने चलन छ।

आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले नयाँ जनै फेर्ने विधान रहेको छ। जनै फेर्नुअघि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो भएर बस्ने परम्परा छ। पूर्णिमाको बिहान व्रत बसेका तागाधारीले नदी, पोखरी, ताल, कुण्डलगायत जलाशयमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरी स्नान गर्छन्।

स्नानपछि जौँ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै धारण गरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ‘ऋषितर्पणी’ पनि भनिन्छ।

वैदिक गुरु परम्परामा यज्ञोपवीत अर्थात् जनैलाई ‘ब्रह्मसूत्र’ तथा ‘ज्ञानको धागो’ समेत भन्ने गरिन्छ।

जनैपूर्णिमाका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदीका किनार तथा काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिरमा रक्षासूत्र बाँध्ने र नयाँ जनै फेर्ने भक्तजनको भीड लाग्ने गर्छ।

जनैपूर्णिमामा क्वाँटीको विशेष महत्व

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाएर भिजाई टुसा उमारेर तयार पारिएको क्वाँटी खाने चलन छ। धार्मिक तथा आयुर्वेदिक मान्यताअनुसार क्वाँटी खाँदा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्नुका साथै पेट सफा हुने र वर्षायाममा खेतीपाती गर्दा शरीरमा लागेको चिसो हटेर भित्री ताप बढ्ने विश्वास गरिन्छ।

विभिन्न प्रकारका गेडागुडीबाट तयार गरिने क्वाँटीको रस स्वास्थ्यका लागि लाभदायक हुने आयुर्वेद चिकित्सकहरूको भनाइ छ। यसले चिसोका कारण हुने रुघाखोकीजस्ता समस्या कम गर्न सहयोग गर्ने विश्वाससमेत गरिन्छ।

तराईमा राखी बाँधेर मनाइँदै

नेपालको तराई क्षेत्रमा जनैपूर्णिमालाई दिदीबहिनी र दाजुभाइबीचको प्रेम तथा आत्मीयताको पर्वका रूपमा पनि मनाइन्छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु तथा सुख–समृद्धिको कामना गर्ने गर्छन्। पछिल्लो समय राखी बाँध्ने यो परम्परा पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ।

विभिन्न तीर्थस्थलमा मेला

जनैपूर्णिमाको अवसरमा देशका विभिन्न धार्मिक तथा पर्यटकीय तीर्थस्थलमा बिहानैदेखि मेला लाग्ने गर्छ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर तथा गङ्गासागर, जुम्लाको दानसाधु र नवलपरासीको त्रिवेणीधामलगायतका स्थानमा स्नान तथा पूजाआजाका लागि भक्तजन पुग्ने गर्छन्। यसपटक भोटेकोशी बाढीका कारण गोसाइँकुण्ड प्रभावित भएको छ। 

जनैपूर्णिमा हिन्दू धर्मावलम्बीका लागि धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।