तिब्बतमा बाढीको जोखिम बढेपछि चीनले उद्धार कार्य रोक्यो

२ हप्ता अगाडि
तिब्बतमा बाढीको जोखिम बढेपछि चीनले उद्धार कार्य रोक्यो

बेइजिङ (एजेन्सी) । तिब्बतको सीमा क्षेत्रमा आएको विनाशकारी पहिरोमा परी सयौँ मानिस अझै बेपत्ता भइरहेका बेला बाढीको पुनः जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गरेको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको अस्थायी ताल फुटेर उद्धार टोली खटिएको क्षेत्रतर्फ पानी बग्न थालेपछि उद्धार कार्य रोकिएको हो।

सीसीटीभीले शुक्रबार सबै उद्धार टोलीलाई हालकै स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको जनाएको छ।

यसअघि नै घटनास्थलमा पुगिसकेका आपत्कालीन टोलीलाई पनि बाढीको खतराका कारण एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको सीसीटीभीले जनाएको छ।

उक्त क्षेत्रमा गएको भीषण पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको अनुमान गरिएको छ। तर प्रतिकूल मौसम र बाढीको जोखिमका कारण बेपत्ताको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।