काठमाडौँ । हिन्दू तथा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा विशेष उल्लासका साथ मनाइन्छ ।
गाईजात्राका अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगरपरिक्रमा गराउने परम्परा छ । यस क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा द्रव्य दान गर्ने गर्छन् । यसरी नगरपरिक्रमा गराउँदा दिवङ्गत व्यक्तिले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
गाईजात्राको सुरुआत राजा प्रताप मल्लको पालादेखि भएको ऐतिहासिक मान्यता छ । पुत्रशोकमा रहेकी रानीलाई संसारमा मृत्यु र शोक सबैले भोग्नुपर्छ भन्ने अनुभूति गराउन राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएको जनविश्वास छ । रानीको शोक कम नभएपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम प्रस्तुत गर्न आदेश दिइएको र त्यसैबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा विकास भएको मानिन्छ ।
गाईजात्राका क्रममा हनुमानढोकास्थित तत्कालीन राजप्रासाद हुँदै नगरपरिक्रमा गर्नुपर्ने परम्परा अहिले पनि कायम छ । काठमाडौँ उपत्यकामा यसको विशेष रौनक देखिने भए पनि देशका विभिन्न शहरमा समेत गाईजात्रा मनाउने गरिन्छ ।
पर्वका क्रममा प्रहसन, सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्यात्मक प्रस्तुति, नाचगान तथा दिवङ्गत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत गाउने परम्परा छ । पछिल्लो समय गाईजात्रा हास्य कलाकारका लागि समेत आफ्ना प्रस्तुति र सामाजिक विषयमाथि व्यङ्ग्य गर्ने महत्वपूर्ण अवसर बन्दै आएको छ ।
काठमाडौँ उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको उल्लेख्य बसोबास रहेका शहरमा पनि गाईजात्रा धुमधामका साथ मनाइन्छ ।
यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको भए पनि यस वर्ष गाईजात्रा शनिबार परेको छ । पर्व भाद्र कृष्ण अष्टमीसम्म विभिन्न सांस्कृतिक तथा हास्यव्यङ्ग्यात्मक कार्यक्रमसहित मनाइनेछ ।