इरानमाथि अमेरिकी हमलाको श्रृंखला बढ्यो

१ हप्ता अगाडि
इरानमाथि अमेरिकी हमलाको श्रृंखला बढ्यो

काठमाडौं । अमेरिकाले इरानमाथि हमलाको श्रृंखला बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जुलाईको अन्तिम सातापछि सोमबार इरानमा पहिलोपटक हमला गरेको अमेरिकाले मंगलबार विभिन्न स्थानमा समेत आक्रमण गरेको बीबीसीले जनाएको छ।

इरानले स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी जनशक्ति तथा ढुवानी जहाजमाथि आक्रमणको प्रयास गरिरहेकाले कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ।

अमेरिकी हमलापछि इरानका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले बताएका छन्। समाचार संस्था तास्निमका अनुसार क्वेसम द्वीपमा विस्फोटका धेरै आवाज सुनिएका थिए। कोनार्क र बन्दर अब्बासमा पनि ठूलो आवाज सुनिएको जनाइएको छ।

अमेरिकी हमलाको कडा जवाफ दिने इरानी सेनाले चेतावनी दिएको छ। सैन्य प्रवक्ता सरदार मोहेबीले अमेरिकाले अब पछुताउनुपर्ने बताएका छन्।

‘अब अमेरिका पछुताउने छ,’ उनले सामाजिक सञ्जाल एक्समार्फत चेतावनी दिएका छन्।

इरानी सेनाले अमेरिकी सेनालाई आतंकवादीको संज्ञा दिँदै इरानमाथि जति बढी आतंक मच्चाउँदै गयो, त्यति नै ठूलो क्षति बेहोर्न अमेरिका तयार रहनुपर्ने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो र शक्तिशाली हमला हुन बाँकी रहेको बताएका छन्।

‘यो त सानो झट्का मात्रै हो। ठूलो आक्रमण आउनै बाँकी छ,’ ट्रम्पले भनेका छन्।

उनले समुद्री धराप बिछ्याएर आक्रमणका लागि इरानले नै उक्साएको आरोप लगाउँदै इरानले अमेरिकाविरुद्ध आठ क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्।

इरानले अमेरिकामाथिको हमला वैधानिक भन्दै त्यसको औचित्य पुष्टि गर्न खोजेमा थप शक्तिशाली हमला बेहोर्नुपर्ने ट्रम्पको चेतावनी छ।

‘यदि इरानले जवाफी हमलाको तयारी गर्‍यो भने उसले अझै भीषण हमलाको सामना गर्नुपर्नेछ। त्यस हमलापछि इरानको केही पनि रहने छैन,’ ट्रम्पले चेतावनी दिएका छन्।