भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात : प्रधानमन्त्री शाह

४ दिन अगाडि
भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढी रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपत्तिले पुर्‍याएको क्षति र पीडा सबै नेपालीको साझा भएको बताए।

“यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,” उनले भने।

प्रधानमन्त्री शाहले संकटका बेला नेतृत्वले थकान र पीडाका कारण विश्राम लिने अवस्था नरहेको बताए। मन भक्कानिए पनि एकआपसमा बिलौना गर्ने समय नभएको उनको भनाइ थियो।

“संकटको यो घडीमा देशको यो नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ,” उनले भने।

विपत्तिसँग लड्नुको विकल्प नरहेको भन्दै प्रधानमन्त्री शाहले दृढ संकल्प र साहसका साथ सरकार संकटको सामना गरिरहेको बताए।

“त्यसैले दृढ संकल्प र साहसका साथ यो विपत्तिमा लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौँ,” उनले भने।