नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु, मधेशका ३ हजार ८१ लाइसेन्स पठाइयो

७ घण्टा अगाडि
नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु, मधेशका ३ हजार ८१ लाइसेन्स पठाइयो

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीमार्फत छपाइ सुरु गरेको हो।

ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यहाँबाट लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स छपाइ तथा वितरणलाई सहज र छिटो बनाउने अपेक्षा गरिएको छ।

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।

प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ। सोहीअनुसार मधेश प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ गरिरहेको छ।

लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको छ।

प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखी यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइको व्यवस्था मिलाइनेछ।

नयाँ प्रणाली लागू भएसँगै प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको छ।