काठमाडौं । २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान आजदेखि ११ वर्ष पूरा भएको छ। संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता रहेको बताएका छन्।
राष्ट्रपतिले संविधानले सुनिश्चित गरेका अधिकार, सेवा–सुविधा र सामाजिक सुरक्षामा सबै नागरिकको समान पहुँच हुनुपर्नेमा जोड दिएका छन्।
संविधान दिवसमा विभिन्न दलका नेताहरूले पनि शुभकामना दिएका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएका छन् भने केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एकजुट भएर यसको रक्षा गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले भने सरकारबाटै संविधानमाथि आक्रमण भइरहेको आरोप लगाएका छन्।
संविधान जारी भएको ११ वर्ष पुगे पनि संघीयता कार्यान्वयन, अधिकार बाँडफाँट, सुशासन र नागरिकले संविधानप्रदत्त अधिकार व्यवहारमै पाउने विषय अझै बहसमा छन्। संविधान संशोधनको विषयसमेत अहिले राजनीतिक चर्चाको केन्द्रमा छ।
संविधान दिवसले संविधानको उपलब्धिसँगै यसको कार्यान्वयन र नागरिकको अपेक्षाबारे समीक्षा गर्ने अवसर दिएको छ।