बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा पर्न सक्ने

७ घण्टा अगाडि
बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा पर्न सक्ने

काठमाडौं । बंगालको खाडीमा विकास हुन सक्ने चक्रवात तथा त्यसबाट विकसित मौसमी प्रणालीको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकास हुने पूर्वानुमान रहे पनि अहिलेसम्म चक्रवातको निश्चित स्वरूप बनिसकेको छैन।

बंगालको खाडीमा चक्रवात बनेर जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै उत्तर–पश्चिमतर्फ सर्दा त्यसको परिधीय प्रभाव नेपालमा पर्न सक्ने उनले बताए। अहिले प्रणाली नै विकसित भइनसकेकाले प्रभावको मात्रा र वर्षाबारे यकिन गर्न नसकिने उनको भनाइ छ।

मौसमविद् लामिछानेका अनुसार असोज ५ देखि १२ गतेसम्म नेपालका विभिन्न स्थानमा बदली, हल्का वर्षा तथा केही क्षेत्रमा बढी वर्षा हुन सक्ने सम्भावना छ। मौसमी प्रणालीको विकाससँगै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विवरण थप स्पष्ट हुँदै जानेछ।

नेपालमा उक्त प्रणालीको प्रभाव करिब चारदेखि पाँच दिनसम्म रहन सक्ने अनुमान गरिएको छ। विभागले मौसमी प्रणालीको अवस्थाबारे विशेष बुलेटिन तथा चेतावनी नक्सामार्फत नियमित जानकारी गराउने जनाएको छ।

धान भित्र्याउने समय भएकाले किसानलाई मौसम पूर्वानुमानअनुसार आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। चक्रवातका कारण ठूलो वर्षा र क्षति हुने चर्चा भइरहे पनि अहिले नै त्यसको मात्रा वा प्रभावित क्षेत्रबारे निष्कर्ष निकाल्न नसकिने विभागको भनाइ छ।