काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। प्रहरीले उनलाई मोरङको बेलबारीबाट पक्राउ गरेको हो।
काठमाडौंस्थित साइबर ब्यूरोमा दर्ता भएको मुद्दाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार साइबर ब्यूरोको सिफारिसमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि दाहाललाई नियन्त्रणमा लिइएको हो।
मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट साइबर अपराधसम्बन्धी गतिविधि गरेको आरोपमा उनीविरुद्ध मुद्दा परेको छ।
पूर्वमाओवादी पृष्ठभूमिका दाहाल दाङका स्थायी बासिन्दा हुन्। उनी मोरङमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन पुगेका थिए।
दाहाललाई विराटनगरबाट हवाईजहाजमार्फत काठमाडौं ल्याएर साइबर ब्यूरोलाई बुझाउने र घटनाबारे थप अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।