काठमाडौं । रसुवा बाढीको खोज, उद्धार तथा राहतका लागि भदौ १० गतेदेखि १६ गतेसम्म प्रभावित क्षेत्रमा २३२ पटक हेलिकप्टर उडान भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार ११ वटा कम्पनीका हेलिकप्टरले उक्त अवधिमा २३२ उडान गरेका हुन्।
उनका अनुसार नेपाली सेनाका हेलिकप्टरले ४२, सरकारी प्रयोजन तथा उद्धारका लागि निजी हेलिकप्टरले १२९ र अन्य निजी उडान ६१ वटा भएका छन्।
सरकारले निजी कम्पनीका हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित उद्धार समन्वय केन्द्रमार्फत परिचालन गरी रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि प्रयोग गरिरहेको छ।
सरकारले निजी क्षेत्रका १५ वटासम्म हेलिकप्टर परिचालन गरिरहेको छ। भदौ ११ गतेपछि नेपाली सेनाका हेलिकप्टरसँगै निजी हेलिकप्टर पनि प्रभावित क्षेत्रमा परिचालन गरिएका हुन्।
विपद्का समयमा हेलिकप्टर सेवा उपलब्ध गराउने विषयमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच सम्झौता भएको छ।
सम्झौताअनुसार हेलिकप्टर उडानको प्रतिघण्टा करिब १ हजार ८ सय अमेरिकी डलर भाडा तय गरिएको छ। सोही आधारमा व्यवसायीले बिल पेस गर्ने र सरकारले दाबीबमोजिम भुक्तानी गर्ने व्यवस्था रहेको संघले जनाएको छ।