अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको अमेरिका भ्रमणका क्रममा विमानस्थलमै पुगेर स्वागत गर्ने भएका छन्। सी बुधबार अमेरिकाको राजकीय भ्रमणमा जाँदैछन्।
सीको विमान वासिङ्टननजिकैको ज्वइन्ट बेस एन्ड्रयुजमा अवतरण गरेपछि ट्रम्प त्यहीँ पुगेर स्वागत गर्ने कार्यक्रम छ। सामान्यतः ट्रम्पले विदेशी राष्ट्रप्रमुखलाई ह्वाइट हाउसमै भेट्ने गरेका छन्।
यसअघि बाराक ओबामा र जर्ज डब्ल्यू बुसले पोपलाई मात्रै विमानस्थलमै पुगेर स्वागत गरेका थिए। गत मेमा ट्रम्प बेइजिङ पुग्दा सी भने विमानस्थलमा स्वागत गर्न गएका थिएनन्। उनको स्वागत उपराष्ट्रपति हान चेङले गरेका थिए।
बिहीबार सीको भ्रमणको मुख्य कार्यक्रम हुनेछ। ट्रम्प र प्रथम महिला मेलानियाले सी र उनकी पत्नी पेङ ल्युआनलाई ह्वाइट हाउसमा स्वागत गर्नेछन्। त्यसपछि रोज गार्डेनमा गार्ड अफ अनरपछि ट्रम्प र सीबीच द्विपक्षीय वार्ता हुनेछ। सोही दिन ट्रम्प दम्पतीले सी दम्पतीका लागि राजकीय भोजसमेत आयोजना गर्नेछन्।