काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा भएको भेटमा नेपाल र भुटानबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो।
भेटका क्रममा दुवै पक्षले नेपाल–भुटान सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। दुई देशबीच आपसी सहकार्य र सम्बन्धका विभिन्न आयामलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
भेटमा जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा पनि छलफल भएको थियो। नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए।
जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा देखापरिरहेका जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन तथा साझा हितका विषयमा सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा पनि भेटका क्रममा धारणा व्यक्त गरिएको थियो।