काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। सोमबार बिहान ५ः४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियसमा झरेको हो।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार यो प्रारम्भिक मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे मापन गरिनेछ। त्यसबेलासम्म तापक्रम थप घट्न सक्ने भए पनि प्रारम्भिक मापनकै तापक्रम कायम रहन सक्ने उनले बताए।
आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस थियो। यसअनुसार अघिल्लो दिनको तुलनामा सोमबार बिहान तापक्रम ०.२ डिग्रीले घटेको छ।
मौसमविद्का अनुसार राति आकाश बादलले ढाकिएको अवस्थामा बिहानको न्यूनतम तापक्रम तुलनात्मक रूपमा बढी हुन्छ। रातभर आकाश खुला रहेमा भने न्यूनतम तापक्रम घट्ने गर्छ।
महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ।
न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रमको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्था देखाउँछ।
पछिल्लो समय देशभर तापक्रम क्रमशः घट्दै गएको छ। तापक्रममा आएको गिरावटसँगै चिसो पनि बढ्न थालेको छ।