काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकारीका अनुसार बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
यसअघि उनका छोरा दीक्षान्त बानियाँ पक्राउ परिसकेका छन् । उनलाई गत कात्तिक १६ गते सीआईबीले पक्राउ गरेको थियो । उनी अहिले सीआईबीकै हिरासतमा छन् ।
बानियाँ परिवारमाथि प्रभु बैंकबाट ३४ करोड रुपैयाँ ऋण लिएर निर्धारित प्रयोजनभन्दा फरक काममा खर्च गरेको आरोप छ ।
अनुसन्धानका क्रममा बानियाँ निर्माण सेवा प्रालि, भूगर्भ सिमेन्ट कम्पनी र बानियाँ सप्लायर्स प्रालिका नाममा कर्जा प्रवाह भएको देखिएको छ ।
उक्त कर्जा एउटा प्रयोजन खुलाएर लिइए पनि अन्यत्र खर्च गरिएको सीआईबीको दाबी छ । सोही विषयमा अनुसन्धान अघि बढाउँदै प्रहरीले पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।