जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आइतबार बिहान जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा यादवलाई शपथ गराएका हुन् ।
प्रदेश प्रमुख कर्णले शनिबार संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमाभित्र कुनै पनि दलले दाबी पेस नगरेपछि ठूलो दलको नेताका रूपमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । यससँगै उनले दोस्रोपटक मधेस प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् ।
तर मुख्यमन्त्री बने पनि यादवका लागि सरकारको निरन्तरता चुनौतीपूर्ण देखिएको छ । संविधानअनुसार उनले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत प्राप्त गर्न नसके उनी पदमुक्त हुनेछन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सांसदको समर्थन आवश्यक छ । जसपाका २७ सांसद रहेकाले यादवलाई बहुमत पुर्याउन थप २७ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।
प्रदेशसभामा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
यादवलाई एमाले र नेपाली कम्युनिस्ट पार्टीले विश्वासको मत दिने सम्भावना नरहेको नेताहरूले बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्य जवाहर कुशवाहाले आफ्नो दलले यादवलाई विश्वासको मत नदिने स्पष्ट पारे ।
‘मलाई एमालेले पनि उहाँलाई विश्वासको मत देला जस्तो लाग्दैन,’ कुशवाहाले भने, ‘त्यो अवस्थामा कांग्रेस र जनमतले मत दिँदा मात्रै उहाँको पद जोगिने देखिन्छ । नत्र एक महिनापछि फेरि अर्को प्रक्रिया अघि बढ्छ ।’
अब यादवले विश्वासको मत जुटाउन अन्य दलसँग छलफल र सहकार्यको बाटो लिनुपर्नेछ ।